- भावुक योगी
बर्दियामा यसपटक
बबई नदीमा आएको बाढीले ५० जनाको ज्यान गयो, हजारौं घर बाढीले बगायो,
हजारौं घरमा बाढी पस्यो, घर भित्रको अन्नपात सबै नष्ट गर्यो र हजारौं
घरपरीवार घरवार बिहीन भए । बाढीले ज्यान लियो, घर बगायो अनि डुबायो ।
बाढीकै चपेटामा परेको मेरो घर भित्र पनि झण्डै ४ फिटसम्म पानी पस्यो ।
बाढीले मेरो घर भने भत्काएन । तर घरमा बाढी पस्दा वर्षभरीको खाने अन्नपात र
लत्ता कपडा त सबै भिजायो नै । अरुको जस्तो प्रत्यक्ष रुपमा दुःख हुने खासै
केही क्षती गरेन । तर यसपटकको बाढीले मेरो आवाज भने भत्कायो झैं लाग्छ ।
बाढीमा धेरै चिच्याउँदा सुकेको अर्थात दबेको मेरो आवाज अझै पहिले जस्तै हुन
सकेको छैन । बाढीका कारण आवाज दब्यो भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर
कुरा आज भन्दा ठिक साढे ६ महिना अघिको हो । बर्दिया सहित मध्यपश्चिम
क्षेत्रमा त्यसबेला ठूलो बाढी आएको थियो ।
साउन ३० गते शुक्रवार बिहानको कुरा हो । बर्दियामा पनि दुई दिनदेखि रातदिन
लगातार अविरल वर्षा भैरहेको थियो । साउन २९ गतेको राति सुर्खेतमा बाढी आएको
खबर श्रीमतीलाई फोन मार्फत ससुरालीले गराएछन् । उनी क्षेत्रीय कृषि तालिम
केन्द्र नेपालगञ्ज खजुरामा तालिमका लागि गएकी थिइन । सुर्खेतमा बाढी आएको
खबर पाए लगत्तै राति १ बजे श्रीमतीले मलाई फोनबाट जानकारी गराउँदै भनिन सजग
रहनुहोला बाढी आउला है । तर मैले ‘यहाँ के बाढी आउला र ? बबई नदी भन्दा त
हामी धेरै टाढा छौँ भने । तैपनि ल ल चिन्ता नलेउ’ भनेर फोन काटे अनि सुतेँ
।
हुन पनि मेरो घर बबई नदी भन्दा झण्डै १२ देखि १५ किलोमीटर टाढा पर्छ ।
अरुले त विश्वास गरेनन् गरेनन् मैले समेत वास्ता गरिन । जब की मौसमविदका
अनुसार साउन मसान्तमा २८ गतेदेखि ३० गतेसम्म मध्यपश्चिम क्षेत्रमा अविरल
वर्षा, बाढी पहिरोको खतरा, सुरक्षित भएर बस्न आग्रह भनेर रेडियोले समाचारमा
भनिरहकेको थियो ।
बिहान साढे ५ बजेको थियो । रेडियो भेरी एफ. एम. खोलेर बिस्तारामा
पल्टिरहेको थिएँ । रातभरी झरी परेको छ, पक्कै कतै न कतै बाढी आएको हुनुपर्छ
। मनमनै सोचिरहेको थिएँ । मोवाइलको घण्टी बज्यो । बबई नदीको बाढीले त
बगनाहा र बनियाभार गाविसका केही गाउँ डुबानमा पर्यो भन्दै बगनाहा र
बनियाभार गाविसका धेरै गाउँबाट एकपछि अर्काे फोन लगातार आउन थाल्यो ।
बगनाहा–२ बर्गदाका शिक्षक दुलारु थालेले ६ बज्न १० मिनेट बाँकी छँदा
चिच्चयाउँदै रुँदै फोन गरे ‘सर हामीलाई बचाउनुस घरको छतमा छौं । अरु घर त
बगाएर लगिसक्यो । हामी नाजुक अवस्गामा छौं’ भनेपछि छर्लङ निन्द्रा खुल्यो र
ओछ्यानबाटै सेनाका कर्णेल, जिल्लाका सिडिओ, जिल्ला प्रहरी कार्यालयका एसपी
लगायत ईलाका प्रहरीलाई फोन गरें । जसलाई फोन गरें । सबैको एउटै आवाज आयो
‘हामी पनि बाढीकै चपेटामा छौं । केहीलाई उद्धार गर्न गएका छन् । सदरमुकाम
गुलरिया सहित ठाउँ ठाउँमा बाढी पसेको छ । तर हामीसँग बोटो छैन ।’
‘बबई नदी किनारका गाउँ जान सक्ने स्थिति छैन । जहाँ हुनुहुन्छ त्यही
सुरक्षित भएर बस्न लगाउनुस । सकिन्छ भने सुरक्षित स्थानतर्फ जान भन्नुस’
भन्ने उत्तर पाइयो । यत्तिकैमा ६ बजेको कायाकैरन सुरु भैसकेको थियो ।
बर्दियामा बाढीले दर्जनौं घर डुबानमा भनेर फोनबाटै उज्यालोको बिहानको
कायाकैरनका लागि समाचार टिपाउँछु भनेर फोन गरें । समाचार सुरु भैसकेको थियो
। समाचार टिपाएँ, अनि घरको कोठाबाट बाहिर निस्किएँ ।
कोठाबाट बाहिर आउँदा अविरल वर्षा भैरहेको थियो । दुई दिनदेखिको वर्षाले
रातभरी बत्ती थिएन । क्यामरा र दुईवटा मोवाइल प्लाष्टिकमा राखेर रेनकोट
लगाएर मोटरसाईकलमा निकालें । अनि बबई नदीमा आएको बाढीले बगनाहामा भएको
क्षतिको रिपोटिङ गर्न जाँदै थिए । घर नजिकैका छिमेकी झोलाहा थारुले ‘बगनाहा
गाविसका सबै जसो वडामा बाढी आएको छ रे । मेरी छोरी पनि घर छोडेर बगनाहाको
चुरे उमाविमा बसेकी छ । मपनि जान्छु मलाई लैजानुस’ भनेर उनले अनुरोध गरें
।
त्यतिकैमा आमाले चिया पाकिसक्यो चिया पिएर जाउँ भन्नुभयो । म अक्सर चिया
खान्न पनि । त्यसैले आमा चिया खान्न भनें । आमाले चिसो छ चिया पिएर जा
भनेपछि चियाकै लागि बसेँ । छिमेकीसँगै चिया पिउँदै थियौं । झरी लगातार
परिरहेको थियो ।
घरदेखि उत्तर तर्फ केही सुसाएको आवाज आमाले सुनेर भन्नुभयो ‘ए बाबु सुन त
के सुसाउँछ । कतै यता पनि बाढी आउन त लागेन ?’ मैले आमालाई चर्को स्वरमा
भने ‘आउँछ नि बाढी ? ठुलो पानी परिरहेको छ त्यै हो ।’ चिया पिएर सकियो ।
हिँड्ने बेलामा आमालाई ‘अमृत भित्र कोठामै सुतिरहेको छ, आज स्कुल नपठाउनु
होला अनि अलि सजग भएर बस्नुहोला, बाढी आइहाल्यो भने गाउँको स्कुलमा
जानुहोला’ भनेर बाटोमा निस्किएँ ।
यति गर्दा बिहानको पौने ७ बजेको थियो । मोटरसाईकल चढेर हिँडन मात्र के
थालेको थिएँ । घरदेखि उत्तर तर्फ झण्डै आधा किलोमिटर परबाट सुसाउँदै
समुन्द्री छाल झै उर्लेर बाढी आएको देखें । अनि घर अगाडीको बाटोमै मोटरसाईल
छाडेर बाढी आयो भन्दै चिच्चाउँदै कोठा भित्र सुतेको छोरा अमृतलाई उठाएर
ल्यापटपको झोला बोकेर छोरा अमृत, छोरी दिक्षा र आमालाई गाउँतिरको स्कुलमा
लैजान दौडाएँ । सबैलाई घरदेखि अलि पर अग्लो ठाउँमा राखेर घर नजिकै दाई
भाउजु भतिजीहरु र छिमेकी सबैलाई बाढी आयो । घर छोडेर भाग । ज्यान बचाउ ।
सामान छोडेर छिटो भाग । स्कुलतिर जाउँ भन्दै कराउँदै भगाउन थालें ।
त्यत्तिकैमा घरभित्र पानी पसिहाल्यो ।
कोही मेरो छोरा खोई भन्छन् त कोही मेरो भैँसी, कोही मेरो बाख्रा भन्दै फेरि
घरमा फर्कन्छन । तर म एकहोरो भाग भैँसी, बाख्रा, अन्नपात सबै छोडीदेउ
ज्यान बचाउ भनेर कराइरहें । ठाउँ ठाउँमा फोन गरिरहें । बगनाहा गाविसको सबै
वडाका गाउँ र नेउलापुर गाविसको ९ नम्बर वडाको नेउलापुरमा उद्धारको विकल्पमा
हेलिकप्टर मगाउनु प¥यो भनेर निकुञ्ज सुरक्षार्थ खटिएको सेनाका कर्णेल,
जिल्लाका सिडियो, एसपी सहितलाई फोन गरें । आश्वासन मात्र पाइन्छ तर
हेलिकप्टर आएन । इलका प्रहरी कार्यालय सहित आफुले काम गरिरहेको मिडिया
रेडियो भेरी एफ एम सुर्खेत, उज्यालो ९० नेटवर्क र हिमालयन टेलिभिजनमा समेत
फोन गरेर पनि भने । मेरो घरमा पनि बाढी पस्यो चारैतिरबाट बाढीले घेरिसक्यो
बचाउनुस मलाई ।
बाँच्ने आशा कमै थियो । त्यो बाढीको भेल देख्दा । त्यसैले अत्तालिएँ अनि
फोन गरें । तर कतैबाट उद्धारको पहल भएन । मेरो घर नजिकका बुधराम थारु र
लल्की थारुका परिवार सहित १२ जना घरको छतमा बसिरहेका थिएँ । उता पारी
मिर्चेया गाउँमा रहेको दलित बस्तिका आशिष भाइका परिवार सहित सबैले फोन गरेर
बचाउन आग्रह गरिरहेका थिए । म सहित गाउँका अग्रज साथी जनार्दन, अर्जुन,
बिक्रम, लुमकान्त, हिरा लगायत विदामा आएका आर्मी भाइ र केही छिमेकीलाई
साथमा लिएर डोरीको सहायताले घाँटीसम्म पानी भएको त्यो बाढीमा पसेर ज्यान
जोखिममा पारेर उनीहरुलाई बचाउन पुगियो । त्यतिकैमा इलाका प्रहरी कार्यालय
भुरीगाँउको प्रहरी पनि आइपुग्यो र झण्डै ३ घण्टाको प्रयासपछि उनीहरु सबैलाई
बचाउन सफल भइयो । बिहानदेखि बाढीमा फसेकाहरुको उद्धार नहुँदा सम्म
चिच्याइरहेका कारण र मोवाइल फोनमा बोल्दा बोल्दै झमझम परिरहेको पानीमा
रुझ्दा र त्यो बाढीमा उद्धारका लागि खटिरहँदा आवाज सुकेको पत्तै भएन ।
सानो छँदा भैली खेल्दा, भैली भट्याउँदा होस वा स्थानीय क्लबको आयोजनामा
रातमा सांस्कृतिक कार्यक्रम गर्नु पर्दाको । त्यसको नेतृत्व मैले नै
गर्नुपथ्र्यो । त्यतिबेला तीन चार रात लगातार अनिदो अनि दिनरात भैली
भट्याउँदा र सांस्कृतिक कार्यक्रम चलाउँदा पनि धेरै कराएर होला आवाज सुक्ने
गथ्र्यो । तर त्यतिबेला चार पाँच दिनपछि आफै आवाज ठिक भएर पुरानै आवाज
फर्किन्थ्यो । त्यस्तै फुटवल खेल्दा पनि बल हान, पास दे भन्दै कराउँदा पनि
बेला बेलामा आवाज सुक्ने गथ्र्यो र पछि आफै ठिक हुने गथ्र्यो । यसपटक भने
निकै गाह्रो भयो, आवाजमा सुधार आएन ।
यसपटक बाढी आएका बेला पनि बिहानदेखि आधा दिन चिच्याइयो होला । त्यसैले आवाज
सुक्यो । आवाज सुक्दा धेरै वास्ता पनि गरिएन । तर बाह्र दिन भैसक्यो । झन
झन आवाज सुक्दै गएपछि अब नेपालगञ्ज नाक, कान, घाँटीको डाक्टरलाई देखाउनु
प¥यो भनेर नेपालगञ्ज गएँ । मेडिकल कलेजका डाक्टर ऋषि भट्टसँग चेक गराउँदा
धेरै कराएर हो । स्वर यन्त्रका मांशपेशी थकित छन् । केहीदिन नबोलेरै आराम
गर्नुस अनि औषधि खानुस निको हुन्छ भनेपछि म फर्किएँ ।
तर आराम के हुन्थ्यो । बाढी पीडितको अवस्थाका बारेमा सदमुकाम गुलरिया
सहितका ६ वटा गाविसमा समाचार संकलनमा दौडिरहें । कायाकैरन, नेपाल दर्पण,
भेरी खबर, उज्यालो अनलाईन, दैनिक नेपालगञ्ज, हिमाल खबर पत्रिकासँगै
बिबिसीमा समेत त्यहाँको वास्तविक अवस्थाका बारेमा रिपोटिङ गरे । तर दिन
प्रतिदिन आवाजको समस्या जटिल हुँदै गएपछि फेरि नेपालगञ्ज गएर नाक कान
घाँटीका डाक्टर रमेश श्रेष्ठकोमा उपचारका लागि पुगेँ । केही दिन नबोलेरै
आराम गर्न सुझाव दिएपछि केही दिन त नबोलेरै आराम गरें । केही दिनपछि फेरि
बाढी पीडितका समस्याका बारेमा रिपोर्टिङ गर्न कुद्न थालें । तीन महिना
भैसक्यो निको भएन र फेरि चेक गर्न गएँ । डाक्टरले लखनउ वा काठमाडौं जान
सुझाव दिएपछि थप उपचार गर्न साढे तीन महिना पछि म काठमाडौंको नर्भिक
अस्पताल गएँ । नर्भिकमा इएनटी डाक्टर किरण राईले घाँटीको अवस्थाका बारेमा
प्रविधिको प्रयोगबाट हेरेर ‘धेरै कराउँदा सानो फोका आएको छ । नबोलेरै आराम
गर्नुस । औषधि खानु पर्दैन ठिक हुन्छ भन्दै नेता, रेडियो टिभीमा बोल्ने
पत्रकार, शिक्षक, गायक गायिकालाई यस्तो हुन्छ । तर आराम गरेपछि निको हुन्छ’
भन्नुभयो । ‘कोदालो खन्दा हातमा ठेला आएपछि आराम गरेमा मात्र निको हुन्छ ।
कोदालो समातेर काम ग¥यो भने घाउ हुन्छ’ डाक्टरले उदाहरण दिँदै भन्नुभयो ।
त्यसैले औषधि खानु नपर्ने बरु स्पिच अर्थात भ्वाइस थेरापी गर्नुपर्ने
भनेपसछ म स्पिच थेरापी तर्फ लागेँ ।
स्पीच थेरापीमा लगातार एक हप्ता गएँ । घरमा गएर यो प्रयास जारी राख्ने, दुई
हप्ता नबोलेर बस्ने अनि पछिका दिनमा दैनिक १५ मिनेट मात्र बोल्ने बताए
अनुसार माघ २ गतेदेखि समाचार संकलन बन्द गरे । विद्यालयमा पनि पढाउन छाडेर
पढ पढ भनेरै कटाएँ । मोवाइ्ल पनि बन्द गरेर २ हप्ता नबोलेर घरमा बसेँ ।
त्यो नबोलेरै घरमा बस्दाका दिन सम्झिँदा त लाग्छ कि म कुनै एकान्त जेलमा छु
। तर हजारौं रुपैयाँ खर्चेर महिनौ दिन बन्दी रुपमा नबोलेरै घरमै बसे पनि
आज साढे ६ महिना भैसक्यो । पहिलेको जस्तो आवाज आउन सकेको छैन । डाक्टरले
एउटै कुरा दोहोराईरहन्छन आराम गर्नुस । नबोलेरै बस्नुस । यदी बोल्नै परे
बिस्तारै दिनमा १० देखि १५ मिनेट मात्र बोल्नुस । आखिर कहिले सम्म ? २
हप्ता त नबोलेरै बसेँ । अब फागुन २३ गतेदेखि फेरि नबोलेरै बस्नुपर्ने भयो ।
अझै पनि पहिले झै राम्ररी बोल्न नसक्दा, रेडियोमा कार्यक्रम चलाउन नसक्दा,
रेडियो रिपोर्ट बनाउन नसक्दा र कसैले आवाज के भो भनेर सोध्दा त्यो दिनको
झल्को आउँछ । बाढीले कसैको ज्यान लियो, कसैको घरवार लग्यो र उठिबास
बनाइदियो । तर बाढीले मेरो भने आवाज नै लियो । तर आफ्नो परिवार सहित
छिमेकीको ज्यान बचाउन सफल भैयो जस्तो पनि लाग्छ । यदि घरबाट निस्किएको भए
बिच बाटोबाटै बाढीले बगाउँथ्यो होला । हिजोआज त्यो बाटोमा हिंड्दा, रुखमा
चढेर ज्यान बचाएकाको ठाउँमा पुग्दा र त्यो दिन सम्झदा लाग्छ धन्न बाँचिएछ
क्यारे । तर मेरो मनमा सधैं एउटा प्रश्न आइरहन्छ । के अब म पहिले जस्तै
बोल्न नसक्ने नै हो त ? बाढी पछि नर्फकिएको आवाज पहिले जस्तै कहिले होला ?




0 comments:
«Oldest ‹Older Newer› Newest»Your feedback is always appreciated. We will try to reply to your queries as soon as time allows.
Note: